काठमाडौं, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गर्ने भएको छ।
दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीले बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो।
ज्ञापनपत्रमा विगतका धेरै भ्रष्टाचार काण्ड सामसुम पारिएको हुँदा आम नागरिकका मनमा यो मुद्दा पनि कमजोर पार्ने षड्यन्त्रको आशंका उब्जिएको भन्दै सरकारलाई सचेत गराइएको छ। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपछि दोषी नउम्कने र निर्दोष नफस्नेगरी अनुसन्धान भइरहेको बताए।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे सहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
