काठमाडौं, ६ जेठ–नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताए।

उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए। प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे।

उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘संविधानलाई पुनर्मूल्यांकन गर्ने बेला भएको छैन। यसलाई लागू गर्नेतिर हामी जाऔँ। एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ। यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ। हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ।’

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधानअनुकूल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए। उनले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताए।

उनले भने, ‘जनताले जुन मत दिन्छन्, प्रतिनिधि पठाउँछन् त्यो प्रतिनिधिले आफ्नो संविधानअनुकूल काम गर्दैनन्, रुल अफ ल हुनुपर्नेमा रुल बाई ल हुन्छ, शासकले विधिलाई शासन गरिरहेको छ, विधिले शासकलाई शासन गर्नुपर्ने हो। तर यसरी विधिलाई शासकले शासन गर्दा कितावबाट भएर पनि जनसमक्ष लेखेर जनतामा ल्याउनुपर्छ भनेर लेख्ने गरेको छु।’

वरिष्ठ अधिवक्ता डा ज्ञवालीले विधिलाई शासकले शासन गर्नेकुरा सह्य हुन नसक्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *