बिर्तामोड, ७ जेठ–अलैंची व्यवसायीले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलासमक्ष व्यवसायी र कृषकको समस्याबारे जानकारी गराएका छन् ।
झापाको बिर्तामोडमा आज नेपाल अलैंची व्यवसायी महासंघले मन्त्री सिटौलालाई बधाई तथा सम्मान ज्ञापन गर्दै व्यवसायी र कृषकको समस्याबारे जानकारी गराएका हुन् । कार्यक्रममा अलैंची व्यवसायीको गुनासो सम्बोधन गर्दै नेपालमा अलैंची विज्ञ नरहेकाले अलैंची विज्ञ उत्पादन गन जरुरी रहेको बताउनुभयो ।
आफू पनि अलैंची कृषक भएकाले अलैंचीको समस्याबारेमा जानकार रहेको अलैंची क्षेत्रमा देखिएको समस्या समाधानमा लाग्ने उहाँको भनाइ छ । अलैंची उत्पादन सम्बन्धी शिक्षाको आवश्कता रहेको सो तर्फ सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।
अलैंची प्रबद्र्धनका लागि व्यवसायीले वेयर हाउस, सहुलियत ऋण लगायत विविध क्षेत्रमा कुरा उठाए पनि प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने बताउनुभयो । अलैंची व्यवसायीहरुले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो नगर्न उहाँले आग्रह गर्नुभयो । राजनीतिक दलका कार्यकर्ता भ्रष्ट हुँदा कागजी रुपमा झोलामा खेती गर्नेहरुले अनुदान पाइरहेको र वास्तविक कृषक सरकारले दिने अनुदान लगायतका सहुलियतबाट बञ्चित रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमा महासंघका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैंची निर्यात हुने गरेको बताउनुभयो । उहाँले भारतलगायतका मुलुकबाट सुकमेल आयात भइरहँदा सोही प्रकारको उत्पादन अलैंची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सुवास भट्टराईले निर्यातजन्य कृषि वस्तुमा अलैंचीले प्रमुख भूमिका निर्वाह गरेकाले अलैंचीको प्रबद्र्धन, बजारीकरण र निर्यात सहज बनाउन सरकारले स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दलले गर्नुभएको थियो भने सञ्चालन महासचिव नारायणप्रसाद चिमरियाले गर्नुभएको थियो ।
