सुरुङ्गा (कनकाई), ९ जेठ–झापाको कनकाई नगरपालिकाले वेवारिसे अवस्थामा श्रममा लगाइएका दुई बालकको उद्धार गरेको छ। कनकाई नगरपालिकाको नगर बाल अधिकार समितिको समन्वयमा जोखिममा रहेका दुई जना बालकको उद्धार गरिएको हो ।

गोप्य सूचनाका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएको अन्दाजी ११ वर्षीय एक जना र बेवारसे अवस्थामा भेटिएका सोही उमेरका अर्का ११ वर्षीय बालक गरी २ जना बालकलाई नगरपालिकाको बालकल्याण एकाइको नेतृत्वमा बाल हेल्पलाइन १०९८ विराटनगर र प्रहरीसहितको संयुक्त टोलीले सोमबार उद्धार गरेको हो । बालकलाई कनकाई–५ बाट उद्वार गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालकलाई कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलको रोहवरमा नगर बाल अधिकार समितिका अध्यक्ष तथा उपप्रमुख आशा सर्मा शिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाइन १०९८ विराटनगरलाई हस्तान्तरण गर्नुभयो । जोखिममा रहेका बालबालिका भेटिए तत्कालै बाल अधिकार समिति वा बाल हेल्पलाइनमा जानकारी गराउन बाल कल्याण अधिकारी उमानाथ ढकालले आग्रह गर्नुभयो ।

कनकाई नगरपालिका बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बन्ने लक्ष्यका साथ क्रियाशील रुपले कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो । कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०–०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी आवमा नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई चालू आवमा बालमैत्री घोषणाको तयारी गरेको बालस्रोत व्यक्ति प्रजेश खनालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई वालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो । बालमैत्री घोषणा गर्ने तयारीसँगै विज्ञ बालस्रोत व्यक्ति रुद्रमणि पोख्रेल र प्रजेश खनाल स्रोत व्यक्ति, नगरका सबै वडामा बाल क्लब गठन, बालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष, वडा–वडामा सचेतनामूलक कार्यक्रम निरन्तर चलाइरहेको छ। त्यस्तै, बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका विभिन्न स्थानको अनुगमन, बालमैत्री नगर घोषणाका उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको, नगरका प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *