झापा, १० जेठ–झापामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भएको छ । जिल्लाका १५ पालिकामध्ये छ वटा पालिकामा ‘कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम’ शुरु भएको हो ।

नेपाल कुष्टरोग संगती संस्थाले स्थानीय पालिकासँगको सहकार्यमा बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा यो कार्यक्रम शुरु गरेको हो । जसअन्तरगत बिर्तामोड कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भइसकेको छ ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा १२२ जना कुष्ठरोगी फेला परेकोमा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १४४ जना नयाँ रोगी फेला परिसकेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय झापाले उपचार पूरा भएका बिरामीलाई रू एक हजार प्रोत्साहन स्वरुप दिँदै आएको छ । तर, कुष्ठरोगको संक्रमण अनुसार छ महिना र एक वर्ष औषधि सेवन गर्नुपर्ने भए पनि बीचमै औषधि सेवन गर्न छोड्ने दर धेरै रहेको छ । चालू आर्थिक वर्षमा औषधि सेवनवापतको प्रोत्साहन रकम १५ जनाले लिएको फोकल पर्सन दासले बताउनुभयो ।

धेरैले बीचमै कुष्ठरोगको औषधि सेवन छाड्दा अंगभंग हुने अवस्थामा पुग्ने गरेको र पुनः सम्पर्कमा आएर औषधि सेवन गर्ने गरेको उहाँको अनुभव छ । “जनचेतनाको अभाव र भेदभावको डरले समाजमा धेरैले रोग लुकाएर बस्न बाध्य भएका छन्”, उहाँले भन्नुभयो, “जसका कारण रोगले जरो गाड्दै गएको छ ।”

केही वर्ष अघिसम्म कुष्ठरोगका कारण शारीरिक अशक्तता भएकाहरुलाई सरकारले उपचारपछि बिऊ पुँजी दिएर आत्मनिर्भर बनाउने गरे पनि पाँच वर्षयता त्यस्तो कार्यक्रम नआएको दासले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *