दमक, १० जेठ–दमक नगरपालिका विपत व्यवस्थापन समितिले पछिल्लो समयमा हावाहुरी र चट्याङबाट पीडित २४ घरपरिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बसेको विपत व्यवस्थापन समितिको बैठकले पीडितहरुलाई क्षति मूल्यांकनका आधारमा नगरपालिकाको विपत व्यवस्थापन समितिले राहत दिने निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवम् दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले क्षतिको मूल्यांकनका आधारमा ५ हजारदेखि २० हजारसम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

वर्षायाम सुरु हुनै लाग्दा गत महिना र हालसालै हावाहुरी र वर्षाका कारण केही संख्यामा कृषि फर्महरुसहित २७ घरपरिवार प्रभावित भएका र सोही अनुसार राहत माग गर्दै निवेदन परेको समितिका सदस्य सचिव एवम् दमक नगरपालिकाका इन्जिनियर अनन्तप्रसाद सेनेहाङले जानकारी दिए ।

‘समितिको तर्फबाट स्थलगत अनुगमन गरी क्षतिको मूल्यांकन समेत गरिएको छ । त्यसैका आधारमा ४ भागमा वर्गीकरण गरेर राहत उपलब्ध गराउने निर्णय भएको हो’, सेनेहाङले भने । हावाहुरीले दमकका विभिन्न वडामा घर, गोठ, टहराको टिन उडाएको भनी निवेदन परेको थियो भने एक विपन्न महिलाको भैंसी चट्याङ लागेर मरेको थियो ।

दमक वडा नम्बर ४ मा भने हुरीबाट पीडित घरपरिवारलाई जनही १५ हजारका दरले यसअघि नै वडा कार्यालयबाट समेत राहत प्रदान गरिएको बैठकमा जानकारी दिइएको थियो ।

त्यस्तै समितिले सम्भावित नदी तथा बाढीको जोखिम नियन्त्रणका लागि आवश्यक तटबन्धन, तारजाली र बाँसको पाइलिङ निर्माण कार्यलाई प्राथमिकतामा राखेर मनसुन अगावै बाँध निर्माणका लागि काम थाल्ने निर्णय गरेको छ ।

सदस्य सचिव सेनेहाङको संयोजकत्वमा ३ जनाको प्राविधिक टोलीले सो बारे अध्ययन गरेर समितिलाई प्रतिवेदन बुझाएपछि सो अनुसार नदी तथा बाढी नियन्त्रणका लागि कार्य थालिने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिइन् ।

समितिले संघीय सरकारमातहतको जनताको तटबन्धन कार्यक्रम गैंडे झापा र प्रदेश सरकारसँग बाढी जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग माग गर्ने र नगरपालिकाको तर्फबाट समेत आवश्यक कार्य गर्ने निर्णय गरेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *