एजेन्सी (राँची) झारखण्ड, १२ जेठ–भारतको झारखण्डमा एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएकी छन्।
बिबिसी हिन्दीका अनुसार झारखण्डको राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान ९रिम्स०मा गत सोमबार २७ वर्षीया अंकिताले पाँच सन्तानलाई जन्म दिएकी हुन्।
उनी झारखण्डकै चतरा जिल्लास्थित मकलपुर गाउँकी हुन्।
स्थानीय अस्पतालले रेफर गरेपछि उनका श्रीमान् प्रकाशले ७ मेमा अंकितालाई रिम्समा भर्ना गरेका थिए।
जाँच गर्दा अंकिताको पेटमा एकभन्दा बढी बच्चा रहेको खुलेपछि चिकित्सकले विशेष निगरानीमा राखेका थिए।
अंकितालाई २२ मेमा प्रसव व्यथा लागेको थियो। लगत्तै उनले प्रत्येक आधा–आधा घन्टाको फरकमा पाँच छोरीलाई जन्म दिइन्। विवाहको सात वर्षमा एकै पटक पाँच सन्तान जन्मिएपछि प्रकाश र अंकिता दंग छन्।
पाँच बच्चालाई जन्म दिएकी अंकिताको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टर बुलिप्रियाले बिबिसीलाई बताएकी छन्।
नवजात शिशुलाई अहिले एनआइसियू वार्डमा राखिएको छ।
रिम्समा पहिलो पटक एकैसाथ पाँच बच्चाको जन्म भएको हो। यसअघि त्यहाँ एक महिलाले एकैपटक चार वटा बच्चा जन्माएकी थिइन्।
एकभन्दा बढी बच्चा जन्मिनुलाई आश्चर्यचकित हुनुपर्ने विषय मान्नुनपर्ने डाक्टर बुलिप्रियाले बताइन्।
‘यो सामान्य प्रक्रिया हो, महिलाको गर्भमा एकभन्दा बढी अण्डा उत्पादन हुँदा एकभन्दा बढी भ्रुण विकास हुन्छन्,’ उनले भनेकी छन्।
एकभन्दा बढी बच्चा गर्भमा रहेकाले अंकितालाई सात महिनामै सुत्केरी गराउनु परेको थियो। बच्चाहरूको तौल सामान्यभन्दा कम छ। उनीहरूको फोक्सोसमेत कमजोर भएका कारण एनआइसियूमा राखिएको छ।
डाक्टरले अझै केही साता उनीहरूलाई एनआइसियूमै राख्न सुझाव दिएका छन्।
विवाह गरेको सात वर्षसम्म पनि सन्तान नभएपछि अंकिताले आफ्ना श्रीमानसँग सल्लाह गरी स्थानीय अस्पतालबाट इन भिट्रो फर्टिलाइजेसन ९आइभिएफ० विधिबाट गर्भाधान गरेकी थिइन्।
अस्पतालमा जाँचका क्रममा एकभन्दा बढी बच्चा रहेको पाइएपछि रिम्स रेफर गरेको थियो।
डाक्टर बुलिप्रियाका अनुसार अंकिता २८ औं हप्तामा अस्पताल पुगेकी थिइन्।
‘प्रसव समय पूरा भएपछि मात्रै सुत्केरी होउन् भन्ने हाम्रो चाहना थियो तर, प्रिम्याचुअर डेलिवरी गर्नुपर्यो,’ उनले भनिन्।
अंकिताको डेलिवरी रिम्सकी वरिष्ठ डाक्टर शशिवाला सिंह नेतृत्वको टिमले गरेको थियो। उनका तीन बच्चा सुल्टो र दुई बच्चा उल्टो बसेका थिए।
जन्मनेबित्तिकै पाँच बच्चालाई एनआइसियूमा राख्नुपर्ने भएको थियो।
अस्पतालमा एनआइसियू बेड खाली नहुँदा महंगो शुल्क तिरेर प्रकाशले दुई बच्चालाई निजी अस्पतालमा राखेका छन्। तीन बच्चा मात्रै रिम्समा छन्।
प्रकाशको आर्थिक अवस्था कमजोर छ। होटलमा काम गर्ने उनको केही समयअघि जागिर गएपछि अहिले उनी ठेलामा फुलफूल बेचेर गुजारा गरिरहेका छन्।
उनलाई पाँच बच्चाको बाबु बन्नुको खुसीभन्दा उनीहरूलाई कसरी बचाउने भन्ने पीर छ।
१६ दिनअघि नै श्रीमतीलाई अस्पतालमा भर्ना गराइएको र गर्भमा पाँच बच्चा रहेको भन्ने थाहा हुँदाहुँदै अस्पताल प्रशासनले एनआइसियूमा बेड नराखिदिएको प्रकाशको आरोप छ।
अस्पताल प्रशासनले भने एनआइसियू वार्ड पहिलेदेखि नै खाली नरहेका कारण प्रकाश र अंकिताका दुई बच्चालाई अन्य अस्पतालमा राख्न भनिएको जानकारी दिएको छ।
