काठमाडौं, १९ जेठ–प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गर्नु संविधान विपरीत र संसदकै अपमान भएको निष्कर्ष निकालेको छ ।
आज (शुक्रबार) बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य नेपालको संविधान, प्रचलित कानुन एवं स्थापित संसदीय मान्यताको विपरीत रहेको स्पष्ट छ ।’
अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाएको र संवैधानिक समय सीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय रहेको विधेयकलाई ताजा प्रतिनिधिसभा गठन भइसकेको अवस्थामा मन्त्रिपरिषदले सिफारिस गरी राष्ट्रपतिले प्रमाणित गर्नु संसद्को अपमान भएको उनले बताए । राष्ट्रपतिको उक्त कदम संविधानको ठाडो उल्लंघन भएको र संसदीय अपमानको विरोध गरिने उनले सुनाए ।
नागरिकता विधेयकदेखि आममाफी अस्वीकार गर्नेसहित चार ‘विशेष प्रस्ताव’ पारित
नेकपा एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यो संविधानको उल्लघन भएको भनेको छ । साथै यसको सशक्त विरोध गर्ने पनि एमालेले जनाएको छ ।
गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आममाफी दिएकोमा पनि एमाले आपत्ति जनाएको छ । जेठ १५ मा पेश भएको बजेटले मुलुकको समस्या समाधान नगर्ने तथा हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको एमालेले जनाएको छ ।
