काठमाडौँ, २० जेठ–उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धान खेर नजाने बताएका छन् ।

आज (शनिबार) काठमाडौँमा पालिकाका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए । उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए ।

उनले आफ्नै पार्टी नेकपा ९माओवादी केन्द्र० का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए । उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने चेतावनी समेत दिए ।

उनले भने, ‘हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मर्ला थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नु होला । त्यो छुट दिइने छैन । त्यसरी नयाँ ढङ्गले काम गर्दैछौँ । सबैको सहयोग चाहिएको छ । हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’ उनले आफू सयौं पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *