क्याम्पा (कमल), २२ जेठ–झापाको कमल गाउँपालिकाको क्याम्पास्थित इलाका हुलाक कार्यालय (तोपगाछी) मा कार्यरत विष्णुप्रसाद अधिकारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान–पत्रसहित बिदाई गरिएको छ ।
झण्डै चार दशक लामो हुलाक कार्यालयमा रहेर जीवन बिताएका हल्कारा (पाँचौं) पदबाट अनिबार्य अवकास हुनुभएका अधिकारीलाई गाउँपालिकाको कार्यालयले सम्मान–पत्रसहित विदाई गरिएको हो ।
बिदाई कार्यक्रममा गाउँपालिका प्रमुख (अध्यक्ष) हुकुमसिंह राई, उपप्रमुख (उपाध्यक्ष) प्रमिला न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले फूलमाला, खादा र अविर लगाएर सम्मान पत्र प्रदान गरेका थिए । बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले सेवा निवृत जीवनलाई घरपरिवार, समाज र राष्ट्रका लागि प्रयोग गर्न अधिकारीलाई आग्रह गरे ।
उपाध्यक्ष न्यौपानेले सरकारी जागिरे जीवनको लामो अनुभव, ज्ञान, सीपलाई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन प्रेरणा र उत्प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरिन् ।
यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यले जीवनको उर्जाशिल समय र जवानी जागिरको शिलशिलामा बिताएपछि बाँकी जीवनको स्वास्थ्य र सुखमयको कामना व्यक्त गरे ।
निजामती सेवामा कार्यरत रहँदा अधिकारीले पुर्याउनुभएको योगदान, कार्यसम्पादन, इमान्दारीता, बफादारिता, मितव्ययिता तथा नागरिकहरुप्रती देखाउनुभएको सेवाको उच्च मूल्याङ्कन गर्दै बिदाई गरिएको थियो ।
अधिकारीे २०४३ सालबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनी पहिलो पटक इलाका हुलाक कार्यालय दुधे (सतासीधाम) मा कार्यरत थिए । उनले २०८० जेठ १४ गतेदेखि अनिवार्य अवकास प्राप्त गरेका हुन् ।
