विराटनगर, २३ जेठ–नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ।

मंगलबार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो।

बुधबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने र असार १ मा बजेट ल्याउने तयारीमा सरकार थियो। तर, नीति कार्यक्रम संसदमा पेश हुनुभन्दा अघिल्लो दिन माओवादीले साथ छाडेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताएका छन्।

‘संसदमा पेश गरेर फेल हुने कुनै पनि कुरा अब सरकारले संसदमा ल्याउँदैन’, भण्डारीले भने, ‘संविधान अनुसार अघि बढ्ने हो।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले भने बजेट ‘मूलबाटोबाटै आउने’ बताएका छन्।

‘सरकारले अब बहुमत जुटाउने कोसिस गर्नेछ’, उनले भने, ‘त्यसपछि मूलबाटोबाटै बजेट आउनेछ।’

माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको साथ छाडेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *