काठमाडौं, २९ जेठ–यो वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक मनसुनबाट १२ लाख ५४ हजार १८१ र दुई लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने अनुमान गरिएको हो।
मनसुनबाट हुनसक्ने क्षति रोकथाम र न्यूनीकरणका लागि बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको १८ औँ बैठकले कार्ययोजना स्वीकृत गरेको हो।
कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलन गरी विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरूको जिम्मेवारी तोकिएको छ। यस्तै खोज, उद्धार तथा राहत सामग्रीहरूको मौज्दातीको विवरण पनि समेटिएको छ। गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग एवं परिचालन गरी विपत् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन निर्देशन दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग हुने तर्क गरे। अनुभव सुनाउँदै कार्ययोजना कार्यान्वयनमा सक्रियताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाए।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो वर्ष मनुसनबाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपदका लागि गरिएका थप तयारीबारे जानकारी गराए। पोखरेलले पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपत् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एक वटा रहने व्यवस्था मिलाएको जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गरी १०० दिन क्रियाशील हुने बताए।
बैठकले बहुप्रकोपीय जोखिम आकलन विधि तथा कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको एक कार्यदल पनि गठन गरेको छ। कार्यदलमा केन्द्रीय तथ्यांक कार्यालय, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग रहेको एक कार्यदल पनि गठन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिनियर डिभिजनल इन्जिनियर ९हाइड्रोलोजिस्ट० पनि छन्।
बैठकले तातो हावाको लहरबाट उत्पन्न परिस्थितिका सम्बन्धमा प्रभावितहरूलाई सहयोग पुर्याउन तत्काल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सङ्घीय निकायहरू, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घसंस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ।
