काठमाडौँ, २९ जेठ–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई आज ९सोमबार० सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मतान्तर रहे पनि सत्ता गठबन्धनका दलहरू एकजुट हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूबीचका धाराहरूमा केही मतान्तर स्वाभाविक भएको पनि बताएका छन् । उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए ।

‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही–केही मतान्तर पनि हुनसक्ला । तर एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता–कस्ता खालका शक्तिहरू छन्, संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरू छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन्,’ उनले भने ।

अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील भन्दै उनले यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यकता नभएको बताए । ‘कमी कमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो । कमजोरीप्रति आँखा चिम्लिने होइन । त्यसमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन‚’ उनले भने । आफ्नो महत्व र भूमिकालाई अस्वीकार गर्नेहरूको चुनौतीको सामना गर्ने पनि उनको भनाइ थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *