झिलझिले, २९ जेठ–स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने माग गर्दै झापाको शिबसताक्षी नगरपालिकाका पाँच वटा वडा अध्यक्षहरुले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आगामी आर्थिक वर्ष २०८०।०८१ मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषयप्रति असहमति जनाउँदै कार्यपालिकाबाट निर्णय गराएर मात्रै सिलिङ बजेटको अंक तोक्न माग गरेका हुन । चालु आ.व.मा यो नगरपालिकाले प्रति वडा ७५ लाख बजेट विनियोजन गरेको थियो ।
ध्यानाकर्षण पत्र बुझाउने वडाध्यक्षहरुमा वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपाने, वडा नम्बर ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र वडा नम्बर ९ का डिल्ली फेम्बु रहेका छन् ।
नगरपलिकाले ४८ घण्टा भित्र बैठक राखेर आफूहरुको ध्यानाकर्षण पत्रमा उल्लेख भएका बिषयहरुमाथि छलफल गर्नुपर्ने वडा नं ६ का वडाध्यक्ष मनोज खुलालले बताए ।
नगरपालिमा बुझाइएको पत्रमा संघीय तथा प्रदेश सरकारबाट स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने कुरामा जोड दिइएको छ ।
ध्यानाकर्षण पत्रमा स्रोत अनुगमन तथा बजेटको सीमा निर्धारण समितिको बैठकले योजनाहरुमा विनियोजन गरेको बजेटमा नगरका महत्वपूर्ण योजनाहरु ल्याण्डफिल्डसाइड सञ्चालन, कृषि थोक बजार निर्माण, झिलझिले बसपार्क निर्माण, शिवगञ्ज आधारभूत अस्पताल सञ्चालन तथा कृषि क्षेत्रको बिकासका लागि कहिं कतै बजेट विनियोजन नगरी सिमित व्यक्तिहरुलाई लाभ पुग्नेगरी बजेट विनियोजनको खाका आएको भन्दै गम्भिर असहमति पनि प्रकट गरिएको छ ।
ध्यानाकर्षण पत्रमा वडा वडाको बिकासबाटनै नगरको बिकास हुने र वडाको भुगोल बिना नगरको भुगोल नहुने पनि स्मरण गराइएको छ । वडालाई अपाङग बनाउने गरि बजेटको विनियोजन गरिएको पनि वडाध्यक्षहरुको टिप्पणी छ ।
नगर प्रमुख मेगाहाङ्ग थोप्राले आगामी आ.व.मा विनियोजन गर्ने बजेट संघीय सरकारबाट कटौती भएर आएकाले तुलानात्मक रुपमा केही रकम घटेको जानकारी दिए । उनले बजेट निर्माणका लागि कार्यपालिकाको बैठक बोलाउने पनि प्रतिबद्धता जनाएका छन । शिवसताक्षी नगरपालिकामा ११ वटा रहेका छन् ।
