काठमाडौं, ३१ जेठ–प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन्। त्यसका लागि समाजवादी मोर्चा गठन गरी फेरि नयाँ नेकपा बनाउनेसम्मको प्रयास हुने भइरहेको पनि बताए।
बुधबार माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन्।
कार्यक्रममा उनले भने, ुसमाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ।’ साथै उनले समाजवादी क्रान्तिको बाटो सरल र सिधा रेखामा नहिँड्ने हुनाले सजिलो पनि नभएको प्रष्ट पारे।
ुनेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो’ प्रधानमन्त्री प्रचण्डले भने।
नेकपा एमालेसँग गरेको नेकपा अदालतको आदेशसँगै विघटन भएर दुवै पार्टी पुरानै स्थानमा फर्केका थिए। हिजोको एकता कायम राख्न नसकिएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले लाखौँ जनतालाई फेरि एकताबद्ध नगरी क्रान्ति सफल नहुने पनि बताए।
पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुनस् नेकपा ब्युताउन आफू सकरात्मक रहेको बताएका छन्। उनले सार्वजनिक कार्यक्रममै यदि प्रचण्ड र एमाले अध्यक्ष केपी ओली तयार भएमा नेकपा ब्युताउन आफू कुनै बाधक नरहेको बताएका थिए।
