विराटनगर, ३१ जेठ–नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कोलोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका सभापतिलाई सोमबार निवासमै पुगेर नेविसंघका कार्यकर्ताले मोसो दलेका थिए।

पोखरेलले मोसो दलेको घटनाको जिम्मेवारी लिएका थिए। उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बूढीगंगाबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले सुनसरी लगेको छ।

सुनसरी प्रहरी उपरीक्षक प्रभु ढकालले पोखरेललाई पक्राउ गरेको जानकारी दिए। घटनामा संलग्न सबै व्यक्तिको पहिचान भइसकेको बताउँदै उनले अन्यको खोजी भइरहेको समेत बताए।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले मसो दल्नेविरुद्ध सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो। पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।

सेवा आयोगका अध्यक्ष दाहाल कार्यालयमा नभेटिएपछि निवासमा पुगेर मोसो दलेको उनीहरूले दाबी गरेका थिए। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनामा नेविसंघको संलग्नता नरहेको बताएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *