दमक, ३ असार–झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि कार्यक्रम, योजना र बजेट सम्बन्धी पत्रकारहरुसंग छलफल तथा राय सुझाव सङ्कलन गरेको छ । छलफलमा दमकका पत्रकारहरुले दमक नगरपालिकाको आगामी आर्थिक बर्ष २०८०।०८१ मा समेटिनु पर्ने प्राथमिकताका बिषय लगायत दर्जनौ विषयहरु उठान गर्दै दमक नगरवासीको विकास, परिवर्तन, समृद्धिसहित रोजगारमुलक र उत्पादनमुखी क्षेत्रमा योजना र बजेट ल्याउन सुझाएका थिए ।
नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमक नगले आगामी आर्थिक बर्षमा प्रस्तुन गरिने कार्यक्रम, योजना र बजेट सम्बन्धी अवधारणाका बारेमा जानकारी गराएका थिइन् । नगर उपप्रमुख प्रसाई नगरपालिकाको राजस्व परामर्श समितिको प्रमु्ख हुन् ।
नगर उपप्रमुख समेत रहनुभएकी राजस्व परामर्श समितिका प्रमुख प्रसाईले नगरपालिकाले आगामी वर्षका लागि प्रस्तुत गरिने कार्यक्रम, योजना र बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारतर्फ केन्द्रित रहने बताएकी थिइन् । त्यससंगै दमकका युवाहरुलाई स्वरोजगार, महिलाहरुका लागि आय आम्दानी बृद्धि गरिने कार्यक्रमहरु बजेटमा समेटिने बताइन् । उनले दमकको सामुदायीक विद्यालयमा शैक्षिक सुधार अन्तर्गत अंग्रेजी माध्यमद्धारा पठनपाठन, विद्यालयका अनिवार्य सिसी क्यामेरा जडान, इ–हाजिरी, विद्यालयभित्र व्यवस्थित क्यान्टिन, खेल मैदान, विद्यालयमा वस सेवा लगायतका शिर्षकमा बजेट ल्याउने तयारीमा रहेको बताईन् ।
यता, पत्रकारहरुले दमकलाई देशभरीको नमुना शहर बनाउन बजेटमा कार्यक्रम र योजनालाई जनताको परिवर्तन र समृद्धि ल्याउने हुनुपर्नेमा धारणा राखेका थिए । पत्रकारहरुले दमकका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रका जिम्मेवारी बन्न सुझाव दिएका थिए । उनीहरुले जनप्रतिनिधिहरु र कर्मचारीहरु जवसम्म जवाफदेही बन्न सक्दैनन्, त्यति वेलासम्म दमकको समस्याको सामाधान हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तैं, दमकमा सञ्चार प्रतिष्ठान निर्माण गरिनुपर्ने पत्रकारहरुले कार्यक्रममा जोडदार माग गरेका थिए । दमकका क्रियाशिल पत्रकार र सञ्चार संस्थाको विकासमा नगरपालिकाले ल्याउन लागेको बजेटमा के छ ? त्यो चासोको विषय भन्दैं आगामी वजेटमा सञ्चार सम्बन्धी कार्यक्रम समावेश गर्न पत्रकारहरुले जिज्ञासा र सुझाव दिएका थिए ।
पत्रकारहरुले नगर कार्यपालिकाको बोर्ड बैठकले पुष महिनापछि मात्रै स्थानीय सञ्चार माध्यमहरुलाई सञ्चार सहयोगको शीर्षकमा रकम उपलब्ध गराउने निर्णय भएपनि सो सेवाबाट पत्रकारहरु बञ्चित हुनु परेको देखेसो पोखेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईसहित प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, लेखा अधिकृत देवीप्रसाद कोइराला, इन्जिनीयर अनन्त सेनेहाङ लगायतको उपस्थिति रहेको थियो ।
