सङ्खुवासभा, ४ असार–सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।

शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका फैजबहादुर कार्की (झापा), मीना श्रेष्ठ (झापा), सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई (सङ्खुवासभा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् ।

त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता हुनुभएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन पक्की पुलमा क्षति पु९याएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *