दमक, ५ असार–झापाको दमक ५ स्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस वापतको सो रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सडक सम्बन्धि कामको अन्तिम भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरररहेको भन्ने सूचना एवं उजुरीका आधारमा सेवाग्राहीसँग लिएको चार लाख रुपैयाँ घुस र स्रोत नखुलेको २ लाख २२ हजार २८० रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
