दमक, ७ असार–झापाको झापा गाउँंपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेत नगद १ लाख रुपैयाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा आज बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण समारोह कार्यक्रममा कृषक बस्नेतलाई सम्मान गरिएको हो । व्यवसायीक केरा खेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पुर्याएको भन्दै सरकारले उनलाई नगद १ लाख सहित सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु तथा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले दोसल्ला ओढाएर तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए । बस्नेत लामो समयदेखि झापा गाउंपालिकामा व्यवसायीक केरा खेती गर्दै र अरुलाई केरा खेतीकालागि प्रोत्साहन गर्दै आएका छन् ।

त्यस्तै, बस्नेतसहित सरकारले सुर्खेतका हिराबहादुर घर्तीलाई कृषि, कैलालीका हिरुलाल डंगौरा वातवरण संरक्षण, प्युठानबाट भावना भट्ट युवा सशक्तिकरण र नेतृत्व विकास, काठमाडौंंबाट वि विल राइज फाउण्डेशन पर्यटन प्रबद्धन र समाजसेवा, रुकुम पश्चिमबाट सृजना ओली पर्यटन प्रवद्धन, काठमाण्डौंबाट शौरभ रिमाल समाजसेवा, धादिङबाट दिवाकर अर्याल युवा सशक्तीकरण र नेतृत्व विकास, दाङबाट दिपेन्द्र नेपाली बिज्ञान तथा प्रविधि, धादिङगका डा.रामथापा क्षेत्रीलाई स्वास्थ्यबाट राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मान गरेको हो ।

त्यस्तै, युवा पत्रकारिता पुरस्कार २०८० बाट सरकारले केशबबहादुर रोका, मेनुका ढुङ्गाना, प्रकाशबहादुर सिंह र बिनोद घिमिरेलाई सम्मान गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *