दमक, ९ असार–नेपाल सगरमाथा तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर प्रशिक्षार्थी खेलाडीहरुको शनिबार (आज) तहगत ग्रेडिङ गरिएको छ । दमक–५ हरिओाम कोलनीस्थित सर्वोदय बोडिङ स्कुलको प्राङ्गणमा आयोजित ग्रेडिङमा दमकका विभिन्न स्थानमा सञ्चालन भइरहेका डोजाङका ९१ जना जुनियर तथा सिनियर खेलाडीहरुले सहभागिता जनाएका थिए ।

जिल्ला तेक्वान्दो संघका अध्यक्ष बाबुलाल सुब्बा र ग्रेडिङ कार्यक्रमका प्राविधिक तथा बरिष्ठ कोच जीतेन मेचेको उपस्थितिमा सगरमाथा तेक्वान्दो डोजाङका खेलाडीहरुको ग्रेडिङ गरिएको हो । ग्रेडिङमा खेलाडीहरुले खेलप्रती देखाएको रुची, सीप, खेल कौशलता, अनुशासन लगायतलाई आधार बनाइएको जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाले जानकारी दिए ।

ग्रेडिङमा वाइट बेल्ट (सेतो), यल्लो बेल्ट (पहेलो), स्टेप ग्रीन र ग्रीन बेल्टका सहभागि प्रशिक्षार्थी खेलाडीहरु थिए । ग्रेडिङमा सिनियरतर्फ र जुनियरतर्फ खेलाडीहरुले प्रमोशन तथा डबल प्रमोशन पाएका छन् भने अन्य विद्यार्थीहरु उर्तिण भएका छन् ।

दमकमा हाल ६ वटा अलग अलग स्थानमा डोजाङ सञ्चालन भइरहेको नेपाल सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालले जानकारी दिए । अध्यक्ष धिमालले आगामी दिनमा थप डोजाङका लागि विद्यालय वा स्थानहरु छनौट भइरहेको र डोजाङलाई व्यवस्थित गर्न दक्ष जनशक्तिसहित सञ्चालन गर्न तयारीमा जुटिरहेका बताए ।

वेलायत (युके) बाट नेपालमा आइपुगेको नेपाल सगरमाथा तेक्वान्दो डोजाङले प्रथम वार्षिकोत्सव मनाइसकेको छ । गत वर्षदेखि नेपालमा विधिवत ढंङ्गले दर्ता पाएर सञ्चालनमा आएको नेपाल सगरमाथा तेक्वान्दो डोजाङको परिकल्पनाकार तथा योजनकार पूर्व विट्रिस आर्मी तथा पूर्व खेलाडी प्रशिक्षक राष्ट्र राई हुन् । राईको सक्रियतामा गत वर्ष दमकमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समेत भएको थियो । हाल झापा, उदयपुर, मोरङ, इलाम लगायतका जिल्लाहरुमा नेपाल सगरमाथा तेक्वान्दो डोजाङ सञ्चालन भइरहेको छ ।

ग्रेडिङ कार्यक्रममा नेपाल सगरमाथा तेक्वान्दो डोजाङका उपाध्यक्ष तथा सर्वोदय बोडिङ स्कुलका प्रिन्सिपल नवीन योगी, सल्लाहकार तथा पत्रकार अनिलदेब राई, प्रशिक्षक मिरा काफ्ले, मनोज कटुवाल, प्रतिमा तामाङ, कपिल धिमाल, रोषिका सुब्बाको उपस्थिती थियो । कार्यक्रममा संस्थाको तर्फबाट नेपाल सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालले धन्यवाद सहित अतिथि तथा कोच (प्रशिक्षक) हरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *