भद्रपुर, १० असार–झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ९आव० को नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको शनिबार बसेको १२औं नगरसभा तथा अधिवेशनले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रमसहितको अनुमानित बजेट पारित गरेको हो ।

नगर उपप्रमुख राधा कार्कीले आगामी आवका लागि रू ८५ करोड ६७ लाख ३ हजार बराबरको अनुमानित बजेट नगर सभामा सार्वजनिक गर्नुभयो ।

नगरसभामा केही विषयमा विवाद भएपछि शनिबार राति अबेर मात्र नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो । चालू आव भन्दा आगामी आवमा रू पाँच करोड ६७ लाख २० हजार घटेको छ । चालु आवमा २०७९/०८० मा रू ९१ करोड ३४ लाख २३ हजार अनुमानित बजेट रहेको थियो ।

नगरको आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकास कार्यक्रमतर्फ रू २८ करोड ४८ लाख ७८ हजार, सामाजिक विकास कार्यक्रमतर्फ रू ३६ करोड २५ हजार, आर्थिक विकास कार्यक्रमतर्फ रू चार करोड ८० लाख, वातावरण तथा विपत् व्यवस्थापन कार्यक्रमतर्फ रू ५८ लाख, संस्थागत विकास-सेवा प्रवाह-सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ रू १५ करोड ८० लाख गरी कूल रू ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो ।

अनुमानित बजेटमा नगरपालिकाको आन्तरिक आयतर्फ रू पाँच करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ संघीय सरकारबाट रू १२ करोड ४४ लाख १० हजार, प्रदेशबाट रू ८२ लाख, स्थानीयबाट रू दुई करोड ८० लाख ७९ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण अनुदानबाट रू १८ करोड ५८ लाख ११ हजार, समपूरक अनुदानबाट रू एक करोड ७९ लाख ७८ हजार, सशर्त अनुदानबाट रू ३१ करोड ७२ लाख २५ हजार, विशेष अनुदानबाट रू २ करोड र नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने रू १० करोड बराबरको योजना तथा कार्यक्रमहरू सञ्चालन हुनेछ ।

सामाजिक विकास क्षेत्रमध्ये शिक्षा र स्वास्थ्य तथा पूर्वाधार क्षेत्रबाहेक कृषि र पशु सेवा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । “सीमित स्रोत साधनका बीच नगरबासीको प्राथमिकतामा आधारित नीति तथा कार्यक्रम बनाइएको छ”, उहाँले भन्नुभयो, “समृद्ध नगर बनाउने दिशातर्फ नगरपालिका केन्द्रित छ ।”

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *