झापा, १० असार–पाँच वडा अध्यक्षसहित ८ जना नगर सभा सदस्यको फरक मतका कारण झापाको शिवसताक्षी नगरपालिकाको १२औं नगर सभा स्थगित भएको छ। आगामी असार १३ गते दिउँसो १ बजे पुन बस्ने गरी नगर सभा स्थगित भएको नगरका प्रवक्ता बहादुर आङवोले बताए।

नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष भास्कर न्यौपाने, मनोज खुलाल, भवानी विक्रम चेम्जोङ, सन्तकुमार फेउदिन र डिल्ली फेम्बुले नगरसभामा नगर प्रमुख रोशन थोप्राले ल्याएको बजेटमा फरक मत राखेका थिए।

उनीहरूले साविकको वडा सिलिङ बजेट घटाएर ४० लाखमा झार्नु न्यायोचित नभएको तर्क गरेका थिए।

चालु आर्थिक वर्षको वडा सिलिङ बजेट ७५ लाख थियो। आगामी आवका लागि नगरले वडामा जाने बजेट घटाएर ४० लाखमा झारेको वडा अध्यक्षले गुनासो गरेका छन्।

नगरले थप २० लाख पनि एक मुष्ठ योजनाका लागि वडामा छुटयाएको छ। तर वडा अध्यक्षहरूले त्यो २० लाखलाई पनि एक मुष्ठ वडा बजेटका रूपमा जोड्दै चालु आवको बजेट साविकको बजेटमा घटाउन नहुने अड्डी गर्दै आएका छन्। वडा मजबुत भयो भने मात्र नगर पनि मजबुद हुने उनीहरूले बताए।

वडा अध्यक्षले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट उत्पादन र परिणाम मुखी नभएकाले संशोधन गर्नुपर्ने माग गर्दे आएका छन्। वडा र नगरले संचालन गरेका ठूला योजनाहरूको निर्माण सम्पन्न गर्न बजेटको सुनिस्चितता गर्नुपर्ने, उत्पादनमुखी योजना र कार्यक्रमलाई प्राथमिकतामा राखिनुपर्ने उनीहरूले जोड दिए।

वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले नगर प्रमुखले हचुवा, मनलाग्दी र अनुत्पादक योजनाका लागि बजेट छुट्याएको आरोप लगाए। यो बजेट कर्मकाण्डीको रुपमा मात्र आएको उनले बताए।

नगर सभामा फरक मत राखेका कारण असार १३ गते दिउँसो १ बजेका लागि पुन नगर सभा डाँकिएको प्रवक्ता आङ्गवोले बताए।

उनले भने, ‘आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र बन्न लागेका ऐन नियमावलीहरुको हेरफेर हुन सक्ने आधारकै कारण तत्काललाई नगर सभा स्थगित गरिएको हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *