दमक, १२ असार–विराटनगरमा मुख्य कार्यालयसहित दमकमा समेत सेवा केन्द्र खोलेर बचतकर्ताहरुको ठुलो निक्षेप रकम अपचलन गर्ने तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारीमा समेत गरि उनीमाथी १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ ।
केदारनाथ शर्मालाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको छ । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।
बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
दमकमा पनि बचत कर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको सो संस्थाको सेवा केन्द्रका कतिपय पदाधिकारी र कर्मचारीहरु यसअघि नै पक्राउ परिसकेका छन ।
दमकमा सेवा केन्द्र बन्द रहेको अवस्थामा नगर प्रमुख रामकुमार थापासहित जनप्रतिनिधि र सरोकारवाला, प्रशासनिक निकायका प्रतिनिधिहरु समेतको उपस्थितीमा छलफल भई सो संस्थाको कार्यालय खुलेको थियो ।
