दमक, १२ असार–दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको पहलमा २ सय बिपन्न परिवारलाई झुल वितरण गरिएको छ । दमक वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका दुई सय परिवारलाई मंगलबार उपप्रमुख टोलमै झुल लिएर पुग्दा विपन्न परिवारमा खुशीयाली छाएको थियो ।
लायन्स क्लब अफ काठमाण्डौ मिन भवनको प्रायोजनमा १ सय र नगर उपप्रमुख भट्टराईको तर्फबाट १ सय झुलहरु वितरण गरिएको हो ।
दमक ५ सुकुम्बासी परिवारमा एक बालकको मच्छडको टोकाइबाट लाग्ने मेनिनजाईटिसका मृत्यु भएको थियो । विपन्न परिवारले झुलको समेत प्रयोग गर्न नसकिरहेको सुनेर आउँदा झुल अभाव रहेको पाइएपछि उपप्रमुख भट्टराईले पहल गरेर ति झुलको बन्दोबस्ती मिलाएकी हुन ।
कतिपयको लागि झुल समान्य कुरा हुन सक्छ तर झुल नभएकै कारण मच्छडको टोकाईबाट ज्यानै गएको घटनाले मलाई अत्यान्तै दुखित बनायो, जुटन सक्ने सहयोग जुटाएर झुल लिएर आएकी छु–’उपप्रमुख भट्टराईले ति बस्तीमा पुगेर भनेकी छिन ।’
झुल वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौ मिनभवनका अध्यक्ष नरेश खड्काले दमकमा प्रदान गरिएका यि झुललाई मायाको चिनोका रुपमा ग्रहण गरिदिन आग्रह गरे ।
दमक ५ मा आयोजित झुल वितरण कार्यक्रममा दमक वडा नम्बर ४ का वडा अध्यक्ष पुण्यप्रसाद दाहालसहित स्थानिय सामाजिक अगुवाहरु चैतन्य बराल, रुद्र गौतम, एकराज लुईटेल लगायतको उपस्थिती रहेको थियो ।
