विराटनगर, १५ असार–नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई अहिलेकै अवस्थामा विश्वासको मत दिने अवस्था नरहेको बताएका छन्।
मुख्यमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बिहीबार प्रदेशसभामा बोल्दै राईले एमालेले संविधान मिच्ने काम गरिरहेकाले समर्थन गर्न नसकिने बताए।
‘हाम्रो समर्थन एमालेले त्यति खोज्दैन तर पनि हामीलाई त विश्वासको मतको समर्थन होइन घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ, यो पार्टी हामीलाई छोड्न मन लागेकै थिएन, सपनामा पनि त्यही पार्टीका नाममा भाषण गरेको देखिन्छ। त्यही पार्टीको झण्डा उठाएर आन्दोलन गरेको देखिन्छ।’ राईले भने, ‘बरु बेहुलीले घर छाड्दा रुने चित्त दुखाउने गर्दैन तर त्यो पार्टी छोड्न हामीलाई मनै थिएन। हामीलाई त खेदेर, पिना पेलेर तेल निकाल्न खोजियो। अहिले पनि हामीले गरेका नियुक्ती धमाधम हटाउने काम गरियो। अदालतले फिर्ता बोलाइदियो।’
उनले अहिलेको अवस्थामा मुख्यमन्त्रीले नै विश्वासको मत पाउने वातावरण नबनाएको बताए।
‘भोट चाहिएको बेला भोटे माया हरर जागेर आउँछ। त्यतिबेला एउटै पार्टी हो । पछि मिल्ने हो भनेर यस्तो कुरा आउँछ। राईले भने,‘अहिले पनि हिजोका गल्ती सच्याउने हो, पेल्न छोड्ने हो भने समर्थन होइन पार्टी एकता नै गर्न तयार छौं।’
