सन्तोष शर्मा/झापा, १६ असार–झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो पाँच वर्षयता जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या क्रमशः बढ्दै गएको हो । चालू आर्थिक वर्ष २०७९/०८० को हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट गत आर्थिक वर्ष २०७८/०७९ मा पाँच जना, आव ०७७/७८ मा तीन, ०७६/०७७ मा दुई, आव ०७५/०७६ मा एक जना र आव ०७४÷०७५ मा पाँच जनाको मृत्यु भएको छ ।
झापामा पछिल्लो १२ यता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालू आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।
घर–खेतमै हात्तीको आक्रमणबाट मृत्यु
अधिकांशले आफ्नै घर–खेतमा हात्तीले आक्रमणमा परी ज्यान गुमाएका छन् । बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै निजी जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बन्नुभयो । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेललाई सामुदायिक वनभित्रको निजी जग्गामा घाँस काट्द जाँदै गर्दा हात्तीले मार्यो ।
शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ । यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले प्राण हर्यो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।
भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दिबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा परेका थिए । दमक–३ का कमैया राई (गैर नेपाली) लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उनको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।
दुई सय १३ जनाले पाए राहत
झापामा चालू आर्थिक वर्षमा दुई सय १३ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएवापत उनीहरुले रू ७१ लाख ६६ हजार सात सय राहत पाएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।
चालू आवमा घाइतेको उपचारका लागि रू चार लाख, मृत्यु राहत रू ५० लाख, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएवापत रू १७ लाख ६६ हजार सात सय राहत रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
गत असार १२ गते हात्तीको आक्रमणबाट मृत्यु भएका भद्रपुर–७ का गिरेन कर्मकारको राहत रकम प्रक्रियामा रहेको छ । सरकारले गैरनेपालीको हकमा भने राहत उपलब्ध नगराउने उहाँले बताउनुभयो ।
