काठमाडौं, १६ असार—गत चौबिस घन्टादेखि पाँच जिल्लाका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार स्याङ्जा, दाङ, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा लगातार भारी वर्षा भइरहेको छ।

महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको र होँचा स्थान डुब्न सक्ने चेतावनी दिएको छ।

त्यस्तै कमजोर र भिरालो जमीनमा पहिरोको जोखिम बढेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

स्याङ्जामा बितेको चौबिस घन्टामा २१४ मिलिमिटर, दाङमा १५८ मिलिमिटर, नवलपुरमा २२१ मिलिमिटर, रूपन्देहीमा १६६ मिलिमिटर, पाल्पामा १८१ मिलिमिटर, तनुहँमा १९० मिलिमिटर, पाल्पाको तानसेनमा १६८ मिलिमिटर वर्षा भएको छ।

ती जिल्लाका केही स्थानहरूमा अहिले पनि भारी वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन्।

पाल्पा, रूपन्देही र नवलपुरमा भारी वर्षा हुँदा तिनाउ नदीले खतराको तह पार गरेको थियो। अहिले उक्त नदीमा पानीको बहाब घटेर सतर्कता तह भन्दा तल पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त नदीमा पानीको बहाब घट्दो क्रममा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *