काठमाडौं, १६ असार–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए।

दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनले बताए। कांग्रेसलाई बदल्ने अभियानमा जुट्न उनले नेता, कार्यकर्तालाई आग्रह गरेका थिए।

‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस्। यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ’, उनले भने, ‘म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटकपटक भनेको छु-दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’

यस्तै पार्टीका शीर्ष नेताहरू पटकपटक प्रधानमन्त्री भइरहेकै कारणले पुराना पार्टी संकटमा परेको उनले बताए। यस्तो अभ्यास कुनै पनि देशमा नभएको पनि उनले बताए।

‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एउटा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको मलाई बताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन’, उनले भने, ‘नेपालमा आज किन पुरानो पार्टी संकटमा छन्, थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुप्रै कारणमध्येको मूल कारण भनेको ती पार्टीको नेताहरू खासगरी पार्टीहरू जमेको पोखरी जस्तो भयो।’

उनले कोही नेता किन पटकपटक प्रधानमन्त्री बन्ने भनेर छलफल र बहस गर्न आवश्यक भएको पनि बताए। त्यसैगरी कांग्रेस सक्किएको भनेर कसैलाई पनि नआत्तिन आग्रह गरेका छन्।

‘आजको दिनमा कांग्रेसले आत्मनिन्दा गरेर, कांग्रेस सक्कियो भनेर छाती पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन। सक्किएको छैन। कसैले सक्काएर सकिँदैन। राजाले सकेन, माओवादीले सकेन। बन्दुकले सकेन। कसले सक्छरु सकिन्छ यो ?,’ उनले भने, ‘त्यसैले यो आत्मनिन्दा गरेर पनि नहिँडौं। हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं। कांग्रेसले आत्मनिन्दा गरेर पनि हुँदैन। अहंकार पालेर पनि हुँदैन। कांग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मावलोकन हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *