काठमाडौं, १७ असार—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।
भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपातिर फर्कने बताएका हुन्।
उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए।
उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्न पहल सुरू गरिसकेको पनि बताए।
‘कम्युनिस्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिस्टहरूलाई एकताबद्ध गर्यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डोर्याउन सकिन्छ, भनेको थिएँ। र कम्युनिष्ट एकता भयो पनि,’ उनले भने, ‘देशको सबैभन्दा ठूलो शक्ति बन्यो, झन्डै दुई तिहाइ मत प्राप्त पनि भयो। जनतामा ठूलो उत्साह देखापर्यो। अब कम्युनिस्टहरूले ४०र५० कति वर्ष शासन लाने हुन् भनेर भय थियो। तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं।’
उनले यसबारे कसैलाई पनि दोषारोपण नगर्ने बताए।
‘कमरेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्छ,’ उनले भने।
आचरण, संस्कृति र भावनामा कहाँ त्रुटि भयो, के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्ने पनि बताए।
ल्अभिि
‘अहिले माधवकुमार नेपाल, म लगायत विप्लव र उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरू गरेका छौं,’ उनले भने, ‘त्यतिबेला माधवजीले पनि र मैले पनि के भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको औंल्याए।
