भद्रपुर, १७ असार–झापा हल्दिबारी गाउँपालिका–२ का ३८ वर्षीय युवा सुशील तामाङ यतिबेला क्यान्सर रोगको उपचारबाट बञ्चित भएका छन् ।

चेकजाँचका क्रममा पहिलो चरणमै क्यान्सर रोग लागेको पत्ता लागे पनि आर्थिक अभावका कारण उनी उपचारबाट बञ्चित बनेका हुन् । रोजगारीका लागि विगत पाँचदेखि भारतको गुजरातस्थित एक होटलमा काम गर्दै आएका उनी क्यान्सर रोग लागेको पत्ता लागेपछि स्वदेश फर्किएका छन् ।

“शुरुमा छातिमा गाँठो देखियो, अलि अलि दुखिरहेको थियो”, उहाँले भन्नुभयो, “सामान्य बेला बेलामा औषधि खाँदा ठिक हुन्थ्यो, पछि धेरै दुख्न थालेपछि चेकजाँच गर्दा छातीको क्यान्सर भएको थाहा पाएँ ।” भारतमा उपचार गर्न सक्ने अवस्था नभएपछि बुबासँग नेपाल फर्किएको उहाँले सुनाउनुभयो ।

नेपाल फर्किएर पुनः झापाको बिर्तामोडस्थित बीएण्डसी क्यान्सर अस्पतालमा परीक्षण गर्दा यहाँका चिकित्सकले समेत क्यान्सर नै रहेको बताएको सुशीलकी आमा सावित्री तामाङले बताउनुभयो । “डाक्टरले केमो दिनुपर्छ भनेपछि १२ वटा केमो चढायौं”, उहाँले भन्नुभयो, “ऋण पान गरेर १२ लाख जति खर्च भयो ।”

उपचारमा संलग्न डाक्टरले छोराको स्वास्थ्यमा सुधार देखिएको र आत्तिनुपर्ने अवस्था नरहेको बताए पनि थप उपचारका लागि सिटी स्क्यान, थेरापी लगायत गर्न थप पाँच लाख लाग्ने बताएको उहाँले बताउनुभयो । “भएको सबै सकियो, अब उपाय केही छैन”, गहभरि आँसु झार्दै उहाँले भन्नुभयो, “मेरो छोराको जीवन बचाइदिन सहयोगको अपिल गर्छु ।”

तामाङ परिवारको सम्पत्तिको नाममा १० धुर जग्गामा बनेको दुई कोठे टिन र चित्राले बारेको घर रहेको छ । सुशीलले कमाएर बेला मौकामा पठाउने गरेको पैसा र दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएको बुबा इन्द्र बहादुर तामाङले बताउनुभयो । एक्लो सन्तान समेत जीवनमरणको दोषाधमा भएपछि आफूहरु ठूलो पीडामा परेको उहाँ बताउनुहुन्छ ।

क्यान्सर निको हुने अवस्थामा रहे पनि आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुने अवस्था सिर्जना भएपछि झापाको बिर्तामोड–२ स्थित गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले सुशीलको उपचारका लागि आर्थिक सहयोग संकलनको अभियान शुरु गरेको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले केही गर्न सक्ने युवालाई आर्थिक अभावकै कारण मृत्युको मुख जान दिन नहुने बताउनुभयो । उहाँले आर्थिक संकलन अभियान चलाउने बताउँदै भन्नुभयो, “जसले जति सकिन्छ, त्यति सहयोग गर्नुपर्छ ।” उहाँले विपन्न नागरिकका लागि सरकारले रू १० लाखसम्मको स्वास्थ्य बिमा गर्नुपर्ने माग समेत गर्नुभयो ।

हल्दिबारी गाउँपालिका–२ का वडाध्यक्ष शुकलाल राजवंशीले वडा र गाउँपालिकाबाट क्यान्सरपीडित युवा सुशीलको उपचारका लागि सहयोग गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्राप्त सहयोग पर्याप्त नभएकाले सबैको सहयोग जरुरी रहेको बताउनुभयो । “समाज र स्थानीय सरकार मिलेर सुशीललाई बचाउनु पर्छ”, उहाँले भन्नुभयो ।

सुशील तामाङलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी मनहरुले उनको आमा सावित्रीको सिटिजन बैंकको हल्दिबारी शाखाको खाता नं ०६३०१००००४४१५०४१ मा रकम जम्मा गर्न सक्नेछन् भने मोबाइल नम्बर ९८१३५५९९४७ मा सम्पर्क गरेर सहयोग गर्न सक्नेछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *