काठमाडौं, १९ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेका छन्।

सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेका सभापति देउवाले मुख्यमन्त्रीका उम्मेदवार थापालाई सघाउन र विश्वासको मत लिने बेलामा पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

राप्रपाले भने अहिलेसम्म ठोस जवाफ दिएको छैन।

राप्रपा अध्यक्ष लिङ्देनले भेटमा सभापति देउवाले कोशी प्रदेश सरकार निमार्णका लागि आफूसँग सहयोग मागेको बताए।

‘हिजो साँझ भेट्न बोलाउनुभएको थियो, सामान्य कुराकानी भयो,’ लिङ्देनले सेतोपाटीसँग भने,‘उहाँले सहयोग माग्नुभएको छ, मैले ल ल मात्रै भनें, ठोस कुराकानी अघि बढेको छैन।’

कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरू कुनै निष्कर्षमा पुगिनसेकको लिङ्देनले बताए।

६ जना प्रदेश सांसद रहेको राप्रपा कोशीमा एमाले नेतृत्वको सरकारमा सामेल थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारले गत १४ गते विश्वासको मत नपाएपछि अर्को सरकार बनाउने प्रक्रिया सुरू भएको हो।

स्पष्ट बहुमत दुबैतिरको गठबन्धनसँग नभएपछि सरकार निमार्णको प्रक्रिया सकसमा छ। राप्रपाले सहयोग गर्‍यो भने थापाको नेतृत्वमा सजिलै प्रदेश सरकार बन्न सक्छ। राप्रपाले मुख खोलिसकेको भने छैन।

सोमबार काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो। लगत्तै कांग्रेसको संघ र प्रदेशका नेताहरू आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा छन्। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले असार २१ गतेसम्म बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *