काठमाडौं, १९ असार–महाधिवेशनअघि क्रियाशील सदस्यतालाई लिएर कुटाकुट र धर्नासमेत भएपछि नेपाली कांग्रेसले यसपालिदेखि सहज तरिकाले क्रियाशील फारम वितरण सुरू गरेको छ।

बारा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरूद्ध धर्ना दिएको थियो।

२०७८ साउनमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट पनि भएको थियो। सिन्धुपाल्चोकमा राप्रपाबाट कांग्रेसमा समाहित भएकालाई क्रियाशील सदस्यता दिने विषयमा कुरा नमिल्दा तत्कालीन क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले घिमिरेमाथि कुटपिट गरेका थिए।

कांग्रेसले जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर क्रियाशील सदस्यता फारम तल्ला तहमा उपलब्ध गराउन र क्रियाशील कार्ड जिल्लाबाटै प्रिन्ट गरेर उपलब्ध गराउने तयारीसमेत गरेको छ। यसका लागि असार २१ मा केन्द्रीय कार्यालयमा छलफल हुनेछ।

केन्द्रीय कार्यालयले क्रियाशील फारम जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई उपलब्ध गराइसकेको छ। क्षेत्रीय समितिले गाउँपालिका र वडाको पार्टी संरचनालाई क्रियाशील सदस्यता फारम दिनुपर्नेछ।

तर गुट नमिलेकोजस्ता कारण यसअघि क्षेत्रले क्रियाशील सदस्यता फारम समयमै तल्ला तहलाई उपलब्ध गराउँदैनथ्यो। यो समस्या समाधानका लागि कांग्रेसले यसपालिदेखि अनलाइनबाट पनि क्रियाशील फारम भर्न सकिने व्यवस्था मिलाउने भएको हो।

महामन्त्री गगन थापाका अनुसार कसैले क्रियाशील सदस्यता फारम जिल्लामा पठाइसकिएको छ।

‘कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्न सुरू गरिसक्यो। नयाँ क्रियाशील सदस्यता हामीले जिल्लामा पठाइसकिएको छ,’ उनले भने, ‘क्रियाशील सदस्यता फारम जिल्ला सभापतिले क्षेत्रलाई दिनुभएन भने वा क्षेत्रले लिएर वडालाई दिएन भने वा वडा सभापतिले लिएर बाँड्नुभएन भने केही समयपछाडी क्रियाशील सदस्यता लिन चाहने मानिसले अनलाइनबाट सदस्यता लिने बाटो खुल्छ।’

क्रियाशील सदस्यता फारम बाँड्दिनँ, मुठीमै राख्छु भन्न नपाइने उनले बताए। ‘कसैले पनि अब क्रियाशील बाँड्दिनँ, मुठीमा कसेर हिसाबकिताब गरेर बाँड्छु भन्ने सोचाइ राख्नुभएको छ भने त्यसबाट बाहिर निस्कनुस्,’ महामन्त्री थापाले भने, ‘क्रियाशील भने विधानअनुसार सम्बन्धित निकायले नै टुंगो लगाउँछ।’

क्रियाशील सदस्यता कार्ड लिन अब जिल्लाले केन्द्रको मुख ताक्न नपर्ने उनले बताए। ‘जिल्ला सभापति आफैंले पुरानो क्रियाशील सदस्य कार्ड प्रिन्ट गरेर दिन सक्छन्,’ उनले भने।

कांग्रेसले साधारण सदस्यता लिन भने अनलाइनबाटै फारम भर्ने व्यवस्था सुरूवात गरिसकेको छ। २० रुपैयाँ बुझाएर अनलाइनबाटै साधारण सदस्य फारम गर्न सकिन्छ। साधारण सदस्यता लिएपछि मात्रै कांग्रेसले क्रियाशील सदस्यता दिन्छ।

महाधिवेशनका बेला कांग्रेसमा क्रियाशील सदस्यताको विषय पेचिलो बन्छ। क्रियाशील सदस्य नहुनेहरू महाधिवेशन प्रतिनिधि हुन र कुनै पनि कार्यसमितिमा रहन पाउँदैनन्, त्यसकारण क्रियाशील लिन चाहने धेरै हुन्छन्। आवेदन परेका सबैलाई कांग्रेसले क्रियाशील दिँदैन।

२०७८ मंसिरमा १४ औं महाधिवेशन हुनुभन्दा अघि पनि क्रियाशील सदस्यता विवाद थियो। उक्त विवादले समयमै जिल्ला अधिवेशनदेखि केन्द्रीय अधिवेशन हुन सकेका थिएनन्। त्यसबेला क्रियाशील सदस्यता विवाद टुंग्याउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा मिनेन्द्र रिजाल र रमेश लेखक रहेको समितिसमेत बनाइएको थियो।

सुरूमा ८ लाख ५२ हजार क्रियाशील सदस्य रहेको प्रतिवेदन बने पनि छानबिनपछि ८ लाख ४२ हजार क्रियाशील सदस्य मात्रै कायम गरिएका थिए। जिल्लाहरूमा नेता हाबी हुन मापदण्ड नै नपुगेका आफू पक्षका धेरैलाई क्रियाशील सदस्यता दिइएको आरोप लागेको थियो।

अबदेखि यस्तो समस्या नदेखियोस् भनेर कांग्रेसले क्रियाशील सदस्यता वितरण खुकुलो बनाउन लागेको छ। साथै कांग्रेसले जुन तहको निर्वाचन हुने हो त्यही तहका कार्यकर्ताले मतदान गरी नेतृत्व चयन गर्ने अधिकार दिन पनि बहस सुरू गरेको छ।

‘कांग्रेसको सदस्यताबारे खुला छलफल गरौं, कहाँनेर बिग्रन्छ रोकौं,’ महामन्त्री थापा भन्छन्, ‘अब २०८४ मा चुनाव हुन्छ। चुनाव हुनुभन्दा ६ महिना अगाडि सम्बन्धित तहले भेला बोलाउनेछ र उक्त भेलाबाट सके सर्वसम्मत र नसके चुनावबाट आफूहरू मध्येबाट को उम्मेदवार बन्ने छान्नेछ भन्ने व्यवस्था विधानमै गरौं।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *