कमल (केर्खा), २१ असार–राजमार्गमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापाको केर्खामा ट्राफिक सप्ताह आयोजना गरिएको छ । कमल गाउँपालिकाको केर्खास्थित ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक रोहित थापाले अनुसार झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको बताए । “सातैदिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो ।

ट्राफिक सप्ताह अन्तरगत दोस्रो दिन पनि विभिन्न ठाउँमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरी सप्ताह मनाइएको छ ।

सप्ताह मनाउने क्रममा ट्राफिक प्रहरी पोस्ट केर्खाले समेत राजमार्गमा तीब्रगति नियन्त्रणका लागि राडर गन चेकिङ गर्नुका साथै विभिन्न सवारीका चालक र पैदल यात्री तथा आम सडक प्रयोगकर्ताहरुलाई सडकमै भेला गराई प्रशिक्षण गरेको छ ।

सो कार्यक्रममा पैदल यात्रा गर्नेहरुलाई जेब्राक्रसबाट बाटो काट्ने अभ्यास गराइएको छ । सवारी चालकहरुलाई बीमा लगायत सम्पूर्ण कागजपत्र नवीकरण गर्न सुझाइएको छ भने जेब्राक्रसमा पैदलयात्रीलाई बाटो काट्न प्राथमिकता दिन सम्झाइएको छ ।

सप्ताह अन्तरगत सवारी चालकलाई सचेतना प्रदान गरिनुका साथै विभिन्न ट्राफिक नियम सम्बन्धी जानकारी गराउँदै पर्चा पम्प्लेट वितरण गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *