काठमाडौं, २२ असार–नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर सांसद खड्काले यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई संघीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन्। उनले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताए।

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उनले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गरे।

बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । घाइते तीनजनाको उद्धार गरिएको थियो ।

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो। सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको बताए।

भेटमा प्रधानमन्त्री दाहालले सरकार बाढीपीडित जनताको साथमा सधैँ भन्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पूर्वी पहाडी जिल्लाको बाढीपहिरोको बारेमा आफू पूर्ण जानकार रहेकाले त्यसको समस्या समाधानका लागि सरकारले कदम चालेको बताए।

उनले बाढीबाट क्षति पुगेको पुलमा तत्काल बेलिब्रिज हाल्नका लागि निर्देशन दिइसकेको पनि जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *