काठमाडौं, २३ असार–मकवानपुरमा ट्रक जुधेर आगलागी हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान १ः४५ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ना ६ ख ६६६७ र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक ठोक्किएपछि आगलागी भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका ‍डिएसपी टेक कार्कीका अनुसार आगलागीबाट दुवै ट्रक पूर्ण रूपमा क्षति भएको छ भने ३ जनाको मृत्यु भएको छ। चालक र सहसचालक गरी ३ जनाको मृत्यु भएको हो, २ जना घाइते छन्।

ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवनका २८ वर्षीय रिहान रूम्बा तामाङ, सोही ट्रकका सहचालक गण्डकी गाउँपालिका-२ गोरखाका २१ वर्षीय सुमन चेपाङ र अर्को ट्रकका सहचालक मनहरी गाउँपालिका(३ मकवानपुरका २० वर्षीय अमृत प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। ‘शव सग्लो अवस्थामा छैन, घाइतेसँगको सोधपुछ गरेपछि उनीहरूको परिचय खुलेको हो,’ कार्कीले भने।

घाइते राप्ती नगरपालिका-३ का ३५ वर्षीय विवेक तामाङ र ट्रकका चालक मनहरी गाउँपालिका-३ का ३२ वर्षीय अर्जुनकुमार प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको र दुवैको स्वास्थ्य मध्यम रहेको डिएसपी कार्कीले जानकारी दिए।

ट्रक दुर्घटना भएपछि पूर्वपश्चिम राजमार्ग बिहानसम्म अवरूद्ध भएको थियो। आगो निभाउन हेटौंडा उपमहानगरपालिकाबाट दमकल पठाइएको थियो।

कार्कीका अनुसार बिहान ५ बजेमात्रै आगो नियन्त्रणमा आएपछि एकतर्फी सडक खुलाइएको थियो। सडक बिहान ७ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *