झापा, २३ असार–झापामा ११ महिनाको अवधिमा झण्डै डेढ किलोग्राम ब्राउनसुगर बरामद भएको छ ।
प्रहरीले ११ महिनाको अवधि (जेठ मसान्तसम्म) मा झापाका विभिन्न स्थानबाट एक किलो ४९२ दशमलव २५ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै, २७ केजी २५० ग्राम गाँजा, लुपिजेसिक ११५ एमपुल, डाइजिपाम १३० एमपुल, नाइट्रोजन १५ चक्की, नाइट्राजेपाम १७८ चक्की, एभिल छ एमपुल, नाइट्राभेट २९८ चक्की, स्पास्पेन ५५० चक्की, ट्रामाडोल हाइड्रोक्लोराइड ५५० चक्की लगायत विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
झापाको पूर्वी नाका काँकरभिट्टा र भद्रपुरको सीमा नाकाबाट ब्राउनसुगरसहित मानिसहरु भित्रिने गरेका छन् । ती नाकाहरुमा प्रहरीले कडाइँ गरिँदा लागुऔषध ओसारपसारको क्रियाकलाप भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्र कचकवल, झापा गाउँपालिका घटना बढ्ने गरेको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो ।
“लागुऔषधमध्ये सबैभन्दा धेरै समस्याका रुपमा ब्राउनसुगर देखिएको छ”, उहाँले भन्नुभयो, “सीमामै रोक्न धेरै प्रयास गरिरहेका छौं ।” लागुऔषध प्रयोगकर्ता कुलतबाट बचाउन र लागुऔषध प्रयोग रोक्न ‘आइ क्यान’ अभियान नै सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
