काठमाडौँ, २३ असार–सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै उनले संसद्‌मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्लाई गति दिन उचित हुने बताए।

उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसद्‌मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थको भूमिका निभाइरहेको बताए। उनले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरूसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद् सुचारु गर्न आग्रह गरेको बताए।

उनले साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरूलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण होरु भनेर प्रश्न गरेको बताए। जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले सो विषयलाई गम्भीरताका साथ नलिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताएको जानकारी दिए।

उनले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने विश्वासमा आफू रहेको पनि बताए। उनले सभामुखको भूमिका संसद्‌मा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने थलो संसद् बन्न नदिने बताए। विवाद उठिसकेपछि त्यसको समाधान गरेरै संसद्का काम अघि बढाउन आफूले चाहेको र सोहीअनुसार पहल गरिरहेको उल्लेख गरे।

केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालले ‘रोड्स टु द भ्याली’को विमोचनमा प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरूसँग धाएको अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *