दमक, ३० असार–झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । गौरीगञ्ज–२ लालमाटीस्थित दशजगामा रहेको १४०/१५ नम्बरको सीमा स्तम्भ (पिलर) लाई कमलखोलामा आएको बाढीले शुक्रबार दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बाढीले बगाएको सीमा स्तम्भको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।
यता, गत असार २६ गतेदेखि आएको अविलर वर्षाले झापाका विभिन्न स्थान डुबान तथा सयौं घर विस्थापित एवम् प्रभावित भएका छन् ।
अबिरल वर्षाको कारण दमक–४ ताराबारी स्थित रहेको मावा खोलामा बाढी आई खोला किनारको खाली ऐलानी जग्गा करिब ५० मिटर लम्बाई र पाँच मिटर चौडाई कटान गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडाको कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ ।
जिल्लाको बाह्रदशी–२ स्थित सुकुम्बासी बस्तिमा अबिरल वर्षाका कारण अदुवा खोलामा पानीको बहाब बढ्दा सुकुम्बासी बस्तिका ४५ घरपरिवार, गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गरी त्यहाँको २६ घरपरिवार विस्थापित भएका थिए । हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापितहरु घर फर्किका छन् ।
