काठमाडौँ, ३० असार–नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ दलहरूप्रति व्यंग्य गरेका छन्।​

पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृति सबै पुराना हुन् भनेर बिर्सन नहुने दाबी गरे। उनले पुराना नाता सम्बन्धलाई तोडी राखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने चेतावनी दिए।

उनले निरन्तर बगिरहेका नदीबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्ने कुरा नबिर्सन नयाँ राजनीतिक दलहरूलाई झकझकाए। महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने वेला आएको बताए।

उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुराना दललाई ताजा बनाउने क्रम शुरु हुने दाबी गरे।

शर्माले भने, ‘नेपाली काँग्रेस अझै बलियो बन्नुपर्नेछ। विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकताबद्ध बन्नुपर्ने वेला छ। त्यसैले सबै साथीलाई ढुक्क हुन आग्रह गर्छु। अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरूले बिर्सिएका छन्, यो धर्ती पुरानो हो। हाम्रा धर्मशास्त्र, संस्कृति पनि पुराना हुन्। पुराना नाता सम्बन्ध तोडी नयाँ नयाँ भनी राखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। निरन्तर बगिरहेका नदीबाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने हामीले बिर्सिनु हुँदैन।’

महामन्त्री शर्माले कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्ने कुरा राखेको भन्दै मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए। उनले सबै खालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसद्‌मा ल्याउनुपर्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *