दमक, ३१ असार–झापाका दुई अलगअलग स्थानमा नदी र खोलामा डुबेर शनिबार दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार एक जना पुरूषको कनकाई नदीमा र एक बालकको गौरादहको कृस्ने खोलामा डुबेर मृत्यु भएको हो।

कनकाईमा डुबेका पुरूषको पहिचान खुलेको छैन।

कृस्ने खोलामा डुबेर मृत्यु हुनेमा गौरादह(२ हासखोरा निवासी १३ वर्षीय बालक एन्जल ताजपुरिया छन्।

एन्जल स्थानीय ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थे। पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।

एन्जल अरू चार जना साथीसँग दिउसो पौडी खेल्न गएका थिए। पौडी खेल्दा खेल्दै एक्कासि उनी बेपत्ता भएपछि उनका साथीहरूले गाउँलेलाई खबर गरेका थिए। गाउँले आएर खोजी गर्दा उनी मृत अवस्थामा फेला परको वडा सदस्य शंकर कट्टेलले बताए।

कनकाई नदीको पश्चिम तटीय क्षेत्रमा फेला परेको पुरूषको भने पहिचान खुलेको छैन। शनिबार साँझ कनकाईमा बगेर आएको दाउरा संकलन गर्ने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य दीपक पोख्रेलका अनुसार मृतक ५५ देखि ६० वर्ष उमेर समूहको जस्तो देखिएका छन्।

शव फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक युवराज कटुवालको नेतृत्वमा प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *