काठमाडौं, ३१ असार–पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ।
सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
सौरमासअनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ। साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए। प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन्। महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ।
साउनको सोमबार ७ हजार ५ सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए। यसैगरी वासुकीनाथको मन्दिरमा ३ हजार १ सयभन्दा कमको विशेष पूजा गराइने छैन।
१८१ देखि २५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ। त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन्। साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।
