झिलझिले, १ साउन–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा २६ असारदेखि एक बर्षका लागि इन्टरनेट सेवा विस्तार गरिएको छ ।
झापाको पूर्वपश्चिम लोकमार्गमा पर्ने झिलझिलेदेखि उत्तरतर्फ घनाजङ्गल र चुरे पहाडभित्र अवस्थित सताक्षीधाममा इन्टरनेट सेवा विस्तार गरिएको हो ।
सताक्षीधाममा मोबाइलको भरपर्दो सेवा नहुँदा त्यहाँ आउने सयौ तिर्थालुहरु, दैनिक घुम्न आउने युवा–युवतीहरु समस्या भोग्दै आइरहेका थिए । सो समस्यालाई मध्यनजर गर्दै शिबसताक्षी–८ डुडामारीस्थित डुडामारी सुधार केन्द्रले सताक्षीधाम परिसरमा दुईवटा इन्टरनेट जडान गरिदिएको छ । दमकस्थित युनिफाइड कम्युनिकेशन प्रालिले सताक्षीधाममा इन्टरनेट सेवा पुर्याएको हो ।
सुधार केन्द्रका अध्यक्ष दिनेश लिम्बूका अनुसार धार्मीक दृष्टिकोण र पर्यटकीय हिसावले होस, सताक्षीधाम पूर्वको एउटा सुन्दर, प्रवित्र र ऐतिहासिक स्थल हो । अध्यक्ष लिम्बूले सताक्षीधामको धार्मीक महत्व, यसको गरिमा, विकास, प्रचारप्रसार र प्रवर्दनमा सहयोग पुर्याउन १ वर्ष अवधिका लागि इन्टरनेट जडान गरिएको बताए ।
लागु पदार्थ तथा दुर्व्यवसन सम्बन्धी क्षेत्रमा सक्रिय ‘डुडामारी सेवा केन्द्र’ कार्यालयमा प्रतिनिधि भाष्कर क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत सताक्षीधाममा इन्टरनेट जडान गरिएको र जसले सताक्षीधाममा आगान्तुक पाहुनालाई ठूलो फाइदा पुग्ने बताए ।
झापा र इलामको सीमानामा पर्ने धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामसम्म पुग्न झिलझिलेबाट पाँच किलोमिटरको दुरी पार गर्नु पर्दछ ।
