काठमाडौं, ४ साउन–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दुई(तीन दिन कम पानी पर्ने पूर्वानुमान गरेको छ।
यसअघि नै महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो।
अहिले मनसुन सक्रिय हुने समयमा वर्षा मत्थर भएको हो।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित भएकाले दुई–तीन दिन पानी कम पर्ने वरिष्ठ मौसमविद् वरूण पौडेलले जानकारी दिए।
‘अहिले मौसमको न्यून चापीय रेखा पूर्वपश्चिम सबैतिर सरदर स्थानभन्दा दक्षिणतिर देखिएको छ,’ उनले भने, ‘यो भन्दैमा पानी नै नपर्ने हुँदैन। बेलुकातिर हल्का वर्षा हुन पनि सक्छ। तर, लगातार झरी परिरहने अवस्था भने हुँदैन। यो क्रम दुई–तीन दिन देखिन सक्छ।’
उनले न्यून चापीय रेखा दक्षिण, उत्तरतिर सर्ने स्वाभाविक प्रक्रिया भएको पनि बताए।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। केही भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
काठमाडौं उपत्यकाको मौसम पनि सफा नै देखिएको छ। सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
