काठमाडौं, ७ साउन–नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाली सेनालाई अपमान नगर्न चेतावनी दिएका छन्।

शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले सेनाको संख्या घटाउने गरी आएका अभिव्यक्तिले सेनाको अपमान गर्ने बताए।

‘सेनालाई अपमान हुने गरी बोली बचन दिन हुँदैन। आजको नेपालको संरक्षण त्यसैले गरेको र हामी बाँचेका छौं। नेपाली भएका छौं। सेनालाई घटाएर पैसा बचाएर देश विकास गर्छु भन्नु वाहियात कुरा हो,’ उनले भने।

नेता गौतमले प्रतिनिधिसभाका २७५ सदस्यलाई घटाएर १६५ बनाउन र राष्ट्रियसभा तथा प्रदेशसभा खारेज गर्न सुझाव दिएका छन्। संघीयताबारे प्रश्न उठिरहेका बेला उनले प्रदेशसभा र राष्ट्रियसभालाई खारेज गर्न सुझाव दिएका हुन्।

‘बरू २७५ जनाको प्रतिनिधिसभा छ त्यसलाई १६५ जनामा झारिदिनूस। त्यसभित्र ३३ प्रतिशत महिलासहित समावेशी बनाइदिनुस्। प्रतिनिधिसभाको कान्छो डुब्लिकेट राष्ट्रियसभाको छुट्टै कुनै भूमिका छैन। राष्ट्रियसभाको आवश्यकता छैन हटाइदिए हुन्छ।

प्रदेशसभा तल पनि एउटा सरकार ७५३ ठाउँमा छ यो संसारमा नभएको, कहीँ पनि छैन। प्रदेशसभा विघटन गरिदिए हुन्छ। प्रदेश पनि हटाइदिए हुन्छ। ति ठाउँमा गएको पैसा जोगाएर देश विकास गर्न सकिन्छ। यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरू उपर्युक्त छैनन्,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *