बिर्तामोड, ७ साउन–प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले पत्रकार दिपक अधिकारीलाई पुरस्कृत गरेको छ । प्रेस सेन्टरले डी.कौडिण्य स्मृति पत्रकारीता पुरस्कारबाट अधिकारीलाई आइतबार पुरस्कृत गरेको हो ।

प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार स्व देवकुमार आचार्य (डी.कौडिण्य) को स्मृतिमा स्थापित पुरस्कार आज २०औं स्मृतिको दिवसको अवसरमा पत्रकार अधिकारीलाई प्रदान गरेको हो । बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी सेन्टरले नगद एक्काइस हजार रुपैँया र सम्मान पत्रसहित अधिकारीलाई सम्मान गरेको थियो ।

प्रेस सेन्टर झापाले आचार्यको स्मृतिमा पुरस्कार स्थापना गरी विगत आठ वर्षदेखि वितरण गर्दै आएको छ । उक्त पुरस्कार यस पटक अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार अधिकारीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री राजेन्द्र कार्कीले पत्रकार अधिकारीलाई नगदसहित सम्मान–पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा भएको हरेक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको मन्त्री कार्कीले चर्चा गरे ।

हाल प्रदेश सरकार गठनमा जटिलता देखिए पनि प्रदेश सरकारलाई सबल र सक्षम बनाउन आफूहरु लागिपरेको मन्त्री कार्कीले बताए । उनले प्रदेश नामाकरणको विषयमा देखिएको विवादलाई समाधान गर्न वार्ता र सम्वादमार्फत् प्रदेश सरकारले ठोस कदम चाल्नेसमेत बताए ।

कार्यक्रममा स्व। आचार्यको जीवनी र योगदानको बारेमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासंघ प्रदेशका कोषाध्यक्ष बिमल लामिछानेले चर्चा गरे भने पुरस्कृत व्यक्तित्व अधिकारीकोबारे प्रेस सेन्टर नेपाल झापाका सह इञ्चार्ज झुलन रेग्मीले प्रकाश पारेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश उपााध्यक्ष मणिकुमार साम्पाङ, प्रेस सेन्टर नेपालका उपााध्यक्ष तथा पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, स्व आचार्यकी छोरी तृष्णा आचार्य, नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, अग्रज पत्रकार सुब्रत न्यौपाने, पूर्व पुरस्कृत व्यक्तित्व दिपिन राई, फोनिज झापा अध्यक्ष भूमिका सुब्बा, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, नारी सञ्चार गृहकी सहसचिव जोश्ना श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

अधिकांश वक्ताले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको क्रममा शहीद हुनुभएका पत्रकार आचार्यको पदचापलाई सदैव पछ्याउनुपर्नेमा जोड दिए । सोही क्रममा डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको कोष स्थापनार्थ पत्रकार सुब्रत न्यौपानेले एघार हजार रुपैँया प्रदान गर्ने घोषणा गरे । उनले अग्रजहरुले देखाएको बाटोमा हिँड्नुपर्ने र उहाँहरुको योगदानलाई जीवन्त राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारी र सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

जनपक्षीय पत्रकार डी। कौडिण्यलाई ४० वर्षको उमेरमा आस्थाका आधारमा २०५९ साल साउन ७ गते झापाको चारआलीस्थित नेपाली सेनाको ब्यारेकमा हत्या गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *