दमक, ७ साउन–झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आइतवारबाट प्रदेशस्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । दमक–९ स्थानीय रणभूमि फूटसल कोर्टमा आज (आइतबार) एकैदिन चार खेल भएका छन् ।

उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले दमककै आस्था कलेजलाई ७–१ गोल अन्तरले हराउँदै दमक बहुमुखी क्याम्पस अघिल्लो चरणमा प्रवेश गरेको हो । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज दमकलाई ६–३ गोल अन्तरले हरायो । तेस्रो खेलमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसलाई पथरी क्याम्पसले ४–१ गोल अन्तरले हरायो । पथरीबाट खेलेका खेलाडी सो क्याम्पसको नभएको भन्दै महेन्द्र मोरङका खेलाडीले विरोधपत्र दर्ता गराएका छन् ।

चौथो खेल शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा र महेन्द्र बहुमुखी क्याम्पस धरानबीच हुने भएपनि शनिश्चरे नआएपछि महेन्द्र विजयी घोषित भयो । आइतवारको पाँचौ तथा खेलमा गौरादह कृषि क्याम्पसलाई दमक बहुमुखी क्याम्पस ‘बि’ ले ६–२ गोल अन्तरले हरायो ।

आयोजक स्ववियु सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दैछन् । दमक–९ को रणभूमि फुटसल कोर्टमा जारी प्रतियोगिताको फाइनल खेल साउन १० गते हुने स्ववियू सदस्य तथा फुटसल प्रतियोगिता आयोजक समितिका सदस्य अब्जल सिटौलाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसैबीच मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको स्ववियू सचिव तथा फुटसल प्रतियोगिता आयोजक समितिका संयोजक दिपक लिम्बुले जानकारी दिए ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *