झापा, ९ साउन-झापामा मनसुन जन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलाशयमा डुबेर र मृत अवस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । जसमध्ये चार जनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको छ । उनीहरु १३ वर्षदेखि २१ वर्ष उमेर समूहका छन् ।

त्यस्तै, जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक÷एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव (नदी, खोला र नहर) डुबेको अवस्थामा फेला परेको उनले बताए । मृत्यु भएकाहरुमध्ये एक महिला, आठ जना पुरुष रहेका छन् भने एक जनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी छ ।

कनकाई नगरपालिका–२ का १८ वर्षीय सलिन गुरागाईंको शिवसताक्षी–१० स्थित दोमुखा ड्याममा पौडी खेल्ने क्रममा, गौरादह–९ स्थित किस्ने खोलामा गौरादह–२ का १३ वर्षीय एञ्जल ताजपुरियाको पौडी खेल्ने, गौरीगञ्ज गाउँपालिका–३ का १४ वर्षीय सागर पराजुली सोही स्थानको लेरा खोलामा पौडी खेल्ने क्रममा र इलाम माइ नगरपालिका वडा–८ स्थित सतासी झर्नाको दहमा साथीसँँग घुम्न गएका झापा कमल गाउँपालिका–५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट ‘डाइभ’ हान्दा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता, घरबाट गाई, वस्तु चराउन गएकी शिवसताक्षी नगरपालिका–१० की २६ वर्षीया कमला राई सोही स्थानको कनकाई सिँचाई नहरको शाखा नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन् भने गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा सोही स्थानका ६५ वर्षीय भागवत शर्मा घोप्टो परेको मृत अवस्थामा फेला परेका थिए ।

यस्तै, भद्रपुर नगरपालिका–९ शान्ति चोकका ७५ वर्षीय जीवन थापा मगर भद्रपुर–८ स्थित मेची क्याम्पसको पूर्वपट्टि जमेको नालीको पानीमा मृत अवस्थामा फेला परेका थिए भने बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय अनिल मैनाली सोही स्थानको देउनिया खोला क्षेत्रमा च्याउ टिप्न गएको बेला खोला तर्ने क्रममा चप्पल बगाएकाले चप्पल टिप्ने जाँदा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका–४ ग्रामथान स्थित नेपाल–भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर झापा– का ७ वर्षीय बालक डेनिस गणेशको खेल्ने क्रममा चिप्लेर डुबेर घाइते भएकोमा उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्याउना साथ सोही अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता, बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाएर ल्याएको साडी बेरिएको अवस्थामा तत्काल नामथर वतन नखुलेको र पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा शव फेला परेकाले कानूनी प्रकृया पूरा गरी शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रिजालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *