काठमाडौं, १० साउन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ दिनसम्म चलेको केन्द्रीय समिति बैठक धैर्यतापूर्वक सुने।

केन्द्रीय सदस्यलाई बोल्न ७ मिनेट समय दिए, कसैले उनको समर्थन गरे त कसैले विरोध। सभापति देउवाले नै बैठक सञ्चालन गरेका थिए।

बुधबार केन्द्रीय समितिको सातौं दिन। महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न निर्णय अनुमोदनका लागि पेश गरे।

प्रस्तावित निर्णयमाथि पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। सभापति देउवाले पालैपालो केन्द्रीय सदस्यलाई छुटेका कुरा छन् भने छोटकरीमा राख्न समय दिएका थिए।

बैठक सक्नुअघि सभापति देउवा बोले। उनले लामो समय बोलेनन्।

‘साथीहरू धेरै(धेरै धन्यवाद है, धेरै राम्रो बोल्नुभयो। धेरै महत्वपूर्ण विषय राख्नुभयो,’ देउवाले भने।

देउवाले एक वर्षपछि केन्द्रीय समिति बैठक राखेका थिए। यसबारे धेरै आलोचना होला भन्ने आफूले ठाने पनि त्यस्तो नभएकोमा देउवा खुसी देखिए।

‘धेरै आलोचना हुन्छ होला भन्ने ठानेको थिए, कम भयो। धन्यवाद दिन चाहन्छु,’ उनले भने।

केन्द्रीय समिति बैठक पार्टीको फेसबुकबाट लाइभ गरेको प्रसंगमा सभापति देउवाले कांग्रेसका गतिविधि दुनियाँले हेर्न पाएको बताए।

‘वास्तवमा हामीले जीवन्त छलफल गर्‍यौं। कांग्रेसमा योग्य साथीहरू हुनुहुन्छ, यो कुरा दुनियाँलाई थाहा भयो, एकसेएक साथी छन्, कोहीभन्दा कोही कम छैन भन्ने देखियो,’ देउवाले भने।

सभापति देउवाले नीति अधिवेशन गर्न नसकिएको स्वीकारे। २०७८ मंसिरमा १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भए पनि नीति अधिवेशन पछि गर्ने भनिएको थियो।

६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि १८ महिना हुँदासम्म मितिसमेत तय हुन सकेको थिएन।

यसबारे देउवाले भने, ‘नीति अधिवेशन गर्ने भनेर हामीले निर्णय पनि गरेकै हो तर महासमिति बैठक गर्ने भइयो। नीति अधिवेशन ठूलो हुन्छ भन्ने भयो। महासमिति अलि सानो पनि छ। नीति अधिवेशन र महासमिति भन्या एकैजस्तो हो।’

उनले यसबारे पदाधिकारी र पूर्वपदाधिकारीलगायतसँग पनि आवश्यक छलफल गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

महामन्त्री गगन थापाले बैठकमा पेश गरेको वार्षिक कार्ययोजना पारित भएसँगै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकको मितिसमेत तोकेका छन्।

‘साथीहरू, अब त दुई महिनामा मिटिङ गर्नैपर्छ। अर्को बैठक, असोज २ गते बस्ने गरी यो बैठक सकिन्छ।’ कांग्रेस विधानमा पनि २ महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ।

खाणलाई निलम्बन गरिएन

साउन २ देखि १० गतेसम्म ९बीचमा केही दिन रोकिएर० चलेको केन्द्रीय समिति बैठकमा बोलेका महामन्त्री गगन थापासहित केही नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका थिए।

तर केन्द्रीय समिति बैठकले खाणलाई निलम्बन गरेको छैन। यसबारे महामन्त्री थापाले लिखित फरक मत राखेका छन्।

बैठकका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरण लगायत बारेमा गहिरो अनुसन्धान गर्न सरकारलाई आग्रह गरिएको बताएका थिए।

‘सुशासन नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो। सुशासन र भ्रष्टाचार सँगसँगै जान सक्दैन। भ्रष्टाचार, अनियमितता र बेथिती निर्मुल नगरी सुशासन आउँदैन। हामी यो विषयमा प्रष्ट छौं,’ निर्णय सुनाउँदै उनले भने, ‘यी गहन विषयलाई आत्मसाथ गरेर नेपाली कांग्रेसले नै २१ वर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग गठनमा भूमिका खेलेको थियो। भ्रष्टाचार जघन्य अपराध हो।’

जो(कोही व्यक्तिले भ्रष्टाचार गरे कानूनअनुसार कारबाही गरिनुपर्ने कांग्रेसको निर्णयमा उल्लेख छ। ‘मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन कांग्रेस प्रतिबद्ध छ,’ सरकारले थालेका भ्रष्टाचारविरूद्ध कदममा हाम्रो साथ र सहयोग छ।’

सभापति देउवा पक्षले खाणबारे अदालतको निर्णय कुर्नुपर्ने बताइरहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *