झापा, १२ साउन–सहकारी संस्थाहरुमाथि अमर्यादित गतिविधि हुन थालेको भन्दै झापाका सहकारीले सुरक्षाको माग गरेका छन् ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी क्षेत्रको सुरक्षाका लागि प्रशासन समक्ष माग गरेका हुन् । जारी विज्ञप्तिमा कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबैलाई कानूनतः दण्डित गर्न आग्रह गरेका छन् ।
यसअघि जिल्लाका सहकारी संस्थाहरुले गत जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्ता किसिमका गतिविधि नरोकिएको भन्दै सो कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न जो कोही व्यक्ति तथा समूह भए पनि प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित सरोकारवाला निकायसंग झापा जिल्ला सहकारी संघले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
उनीहरुले केही व्यक्ति तथा समूहले अभियानको नाममा र राजनीतिक दलको समेत नामबाट सहकारी संस्थामा निरन्तर गलत क्रियाकलाप गरिरहेकाले सम्बन्धित राजनीतिक दल र संस्थालाई अविलम्ब त्यस्तो कार्य सच्याउन तथा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न अनुरोध गरेका छन्, अन्यथा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइने समेत विज्ञप्तिमा उल्लेख छ । झापालगायत देशका विभिन्न स्थानमा समूह तयार गरी सहकारी संस्थाहरुमा होहल्ला गरी सार्वजनिक हुलहुज्जत गर्ने गरेको पाइएको छ ।
